महाकवि देवकोटाको घर भत्काउनुपर्नेबारे लिखित जवाफ माग
बुधबार
२७ ,
श्रावण
२०७८
Tamor Khabar
284
सर्वोच्च अदालतले महाकवि लक्ष्मीप्रसाद देवकोटाको पुरातात्विक महत्वको घर भत्काउनुपर्नुका कारणसहित लिखित जवाफ पेश गर्न आदेश जारी गरेको छ । न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले आज १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत नेपाल प्रज्ञा–प्रतिष्ठानलगायतका निकायका नाममा लिखित जवाफ पेश गर्न आदेश जारी गरेको छ। अधिवक्ता सञ्जय अधिकारीले पुरातात्विक महत्वको घर भत्काउने काम रोक्न आदेशको माग गर्दै सर्वोच्चमा अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । सोही निवेदनको प्रारम्भिक सुनुवाइपछि अदालतले उक्त लिखित जवाफ माग गरेको हो । प्रज्ञा–प्रतिष्ठानले मैतीदेवीस्थित देवकोटाको घर भत्काएर अर्को घर बनाउने तयारी गरेको छ । तर पुरातात्विक एवं ऐतिहासिक महत्व बोकेको घर नभत्काइ संरक्षण गरेर राख्नुपर्ने साहित्यकार तथा संरक्षण विज्ञको भनाइ छ ।








